गण्डकी- समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पुर्याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ।
उक्त अप्रेरसका क्रममा हालसम्म २०६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ। यही असोज ९ गते पोखराका पाँच स्थानमा ‘स्विप अप्रेसन’ चलाई एकै रातमा १२३ जनालाई नियन्यत्रणमा लिएको प्रहरीले त्यसयता दुईपटक उक्त अप्रेसन सञ्चालन गरेको हो।
असार १० गते राति पोखरामा विभिन्न स्थानमा ‘स्वीप अप्रेसन’ गर्दा थप ६१ जनालाई प्रहरीले पक्राउ गरेका थियो। यस्तै गत सोमबार राति बगर, टुँडिखेल, तेस्रापट्टि, बागलुङ बसपार्क, हरिचोक, बाटुलेचौर, लामाचौरलगायत क्षेत्रमा चलाइएको उक्त अप्रेसनका क्रममा २३ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
सोमबार पक्राउ परेकामध्ये सात जनालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ। सात जनालाई एक हजार रूपैयाँ जरीवाना तिराएर छोडिएको छ भने छ जनालाई आफन्तको जिम्मा लगाई तारेखमा लगाइएको हो। यस्तै तीन जनालाई जुवा मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्ने, जुवा खेलाउनेजस्ता अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रनाउ बस्नेतले बताए।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेसन’ सञ्चालन गर्ने गरेको उनको भनाइ छ। लेकसाइडलगायत क्षेत्रमा गाँजाजन्य पदार्थ र मदिरा सेवन गरी रातिको समयमा होहल्ला गर्ने गरेको जनगुनासो बढेपछि प्रहरी विशेष अप्रेसन चलाएको हो।
मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ। आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र चेकजाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताए।
आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको उनको भनाइ छ। यस अभियानले निरन्तरता पाउने प्रनाउ बस्नेतले बताए।






About Us
प्रतिक्रिया