काठमाडौं-नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन नभएकोमा प्रश्न उठाइएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले गुरुङमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भन्दै प्रश्न गरे।
नेता आङदेम्बेले अरूलाई भ्रष्टाचारको आरोप लगाएर घेराबन्दी गर्ने सरकारले आफ्नै पूर्व गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपमा भने कुनै अनुसन्धान नगरेको भन्दै आपत्ती जनाए।
‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोप लगाएर खेद्ने, तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको आरोपमाथि कुनै छानबिन नगर्ने ? यो कस्तो सुशासन हो ?’ उनले प्रश्न गरे, ‘तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले किन हिच्किचाएको हो ?’
नेता आङ्देम्बेले सम्पत्ति छानबिनका लागि आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिए। उनले २०४७ देखि २०५९ सालसम्मको सम्पत्ति छानबिन गरेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याइएको विषय पनि उठाए। ‘सम्पत्ति छानबिन गर्न आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। तर २०४७ देखि २०५९ सम्मको छानबिन गरेको लम्साल आयोगको प्रतिवदेनलाई कार्यान्वयनमा अगाडि बढाउन केले राेक्यो ? प्रतिवेदनहरू बनाउने तर पहिलेजस्तै दराजमा थन्क्याउने हो भने अहिलेको डंका पिटाइएको कुनै अर्थ रहने छैन,’ आङदेम्बेले भने।






About Us
प्रतिक्रिया