नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेस र दलित हराए : संयोजक प्रचण्ड


काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताए छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नीति तथा कार्यक्रमले सत्तारूढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न नसकेको टिप्पणी गरेका हुन्। 

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ।’

सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेशी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिँगो नीति तथा कार्यक्रममा मधेशप्रति मौन रहेको बताए।

‘सत्तारूढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो। तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहीँ कतै प्रकट हुन सकेन’, प्रचण्डले भने, ‘सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारभन्दा पनि प्रतिगामी बन्न पुगेको छ।’

उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको टिप्पणी गरे।