काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाएकि छिन्। सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताइन्।
आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजाने बताइन्। सोनाम ल्होछारजस्ता पर्वहरूले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्वमञ्चमा पुगिरहेको बताइन्।
रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले ल्होछारसँग जोडिएको पञ्चतत्व र स्वस्थ जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवन पद्धतिको गहिरो पक्षलाई उजागर गर्ने बताइन्। कार्यक्रममा तामाङ समुदायका व्यक्तिले आ–आफ्नो वेशभूषासहितको पहिरनका साथ सांस्कृतिक प्रस्तुति दिएकी थिइन्।



About Us
प्रतिक्रिया