प्रहरी हुँ भन्दै एक लाख ठगी गर्ने दुई जना पक्राउ  


काठमाडौं – प्रहरीको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९, लालगढ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–१०, गोठाटार बस्ने रबिन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भई हाल कीर्तिपुर, भत्केपाटी बस्ने ३३ वषीय योगेन्द्र पौडेल रहेका छन्। 

कात्तिक १६ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा तीन–चार जनाको समूहमा पुगेका व्यक्तिहरूले आफूहरू सीआईबीका प्रहरी भएको भन्दै खाजा खाइरहेका दुई जनाको मोबाइलमार्फत क्रमशः ५०-५० हजार गरी कुल १ लाख रुपैयाँ इसेवामा ट्रान्सफर गराएका थिए।

साथै, उनीहरूको साथमा रहेको करिब ६ हजार नगद पनि लिई समूह फरार भएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न दुई जनालाई कात्तिक २६ गते साँझ ६ बजे काठमाडौं महानगरपालिका–१०, पुरानो बानेश्वरबाट प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

उनीहरूको साथबाट प्रहरीले  विभिन्न व्यक्तिहरूका ११ थान पासपोर्ट,  विभिन्न संस्थाका १३ थान लेटरहेड– कागजात,विभिन्न कार्यालयका ४ थान छाप (स्टाम्प), ३ थान कार्यसम्बन्धी कार्ड–डॉकुमेन्ट, ११ थान नगद रसिदका बुक, विभिन्न व्यक्तिहरूका निवेदनहरू र  व्यक्तिहरूबीच गरिएका मिलापत्रका कागजातहरू बरामद गरेको छ। उनीहरूविरुद्ध ठगी तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।