बीमितहरुलाई बीमा पोलिसीबारे जानकारी नै नहुँदा आफ्नो क्षमता कति हो भन्ने ख्याल नपुर्याइ पोलिसी खरीद गर्ने प्रवृत्ति बढ्दो छ । अर्कोतिर बीमा पोलिसी बिकाउने बीमक प्रतिनिधिहरुले बढिको बीमा गराउँदा बढी कमिसन आउँछ भन्ने सोचाइका कारण बीमा सरेन्डरका मुद्दाहरु बढ्दै गइरहेका छन । यो सँगै बीमितको आय स्रोत नहेरी ठूलो रकमको पोलिसी खरिद गर्न उक्साउने मनोवृत्तिलाई पनि सरेन्डर बढ्नुको कारणका रुपमा हेर्न सकिन्छ । यस्तै बिषयमा सिटिजन लाईफ इन्स्योरेन्सका सूचना अधिकारी सभोना सापकोटासँग बैंकिङ्ग समाचारको तर्फबाट भावना अवस्थीले गरेको कुराकानीः
जीवन बीमा कम्पनीका आजका मुख्य समस्या र चुनौतीहरु के–के छन् ?
नेपालको सन्दर्भमा जीवन बीमा सम्बन्धी जति जानकारी हुनुपर्ने हो त्यति जानकारी छैन । बीमा गरिसकेकाहरुले पनि एजेन्टसँगको चिनजान अथवा उनीहरुको जिद्दिले गर्दा गरेको पाइन्छ । बीमा गरेका हरुलाई आफुले कस्तो बीमा पोलिसीमा बीमा गरेको छु ? यसबाट आफुले पाउने फाईदाहरु के–के छन ? यस्ता खाले जानकारी हुँदैन र यस्तोमा आफुले पाएको सुबिधा आफुले उपभोग गर्न नपाउँदा किन गरिरहेको छु ? भन्ने लाग्छ र आवश्यक हो जस्तै लाग्दैन ।
बीमा कम्पनीहरुमा तुलना गरिने प्रवृत्ति छ । मानिसहरुलाई बीमा सम्बन्धी थाहा हुँदैन र लाइफ इन्स्योरेन्स र निर्जिवन बीमासँग तुलना गरिन्छ । यो दुईवटामा फरक छुट्याउन उहाँहरुले सक्नुहुन्न । यदी निर्जिवन बीमामा समस्या छ भने त्यो लाइफ इन्स्योरेन्समा पनि भइरहेको हुन्छ । त्यसैले बीमा कम्पनीहरु फटाहा हुन्छन भन्ने भ्रम पैदा भएको छ । कहिले बीमीतको कागजात नै पुगेको हुँदैन त कहिले प्राविधिक समस्याहरु हुन्छन । बीमा गर्ने बीमितले यस्ता कुरा बुझ्न जरुरी छ । यस्ता बिषयमा जानकारी अपुग हुँदा अहिले बीमा कम्पनीहरुमा चुनौती थपिएको छ ।
बीमा कम्पनीले बिक्री गरेका बीमा पोलिसीहरु सरेन्डर (परित्याग) हुने क्रम बढीरहेको छ, यस्तो किन भइरहेको छ ?
सरेन्डर केस किन आउँछ भन्दा जानकारीको कमी नै हो भन्न सकिन्छ यसमा एउटा त बीमा गर्ने बीमितले आफ्नो इच्छाले गरेको हुँदैन । कसैको जिद्दीले अथवा एजेन्टसँगको चिनजानकै भरमा बीमा गरिन्छ । त्यतिबेला पैसा ऋण नै निकालेर बीमा गरिरहनुभएको हुन्छ । तर अर्को पटक किस्ता तिर्न सक्दैनन । कसैले त्यो बुझेको हुँदैन । अनि बीमितले सरेन्डर गरेर पैसा फिर्ता लिन खोज्छन । यो सँगसँगै अहिले आर्थिक मन्दी पनि चलिरहेको छ । यसको असर बीमा क्षेत्रमा पनि देखिरहेको छ । त्यसले गर्दा पनि सरेन्डरका केसहरु धेरै आइरहेको छ ।
बीमा सरेन्डर गर्दा बीमा कम्पनी र बीमीतलाई कस्तो असर पर्छ ?
सरेन्डर भनेको हामीले बीमा गरेको तीन बर्षसम्मको किस्ता पूरा भुक्तानी गरिसकेपछि बीमा सरेन्डर गर्न पाइन्छ । यसमा बीमा कम्पनी अनुसार केही रकम कम्पनीले कटौती गर्ने प्रावधान हुन्छ । त्यो रकम कटौती गरेपछिको पाउनुपर्ने रकम बीमीतले फिर्ता पाउँछ । यसको बेफाइदा त कम्पनीलाई भन्दा बीमितलाई नै हुने हो । बीमाले त आर्थिक जोखिम कम गर्ने हो । त्यो नै सरेन्डर गर्नुहुन्छ भने उहाँहालाई नै घाटा हो । हामीले उहाँहरुको जोखिम कभर गरेबापत उहाँहरुबाट प्रीमियम लिन्छौँ र त्यसलाई अन्तै लगानी गरी आएको नाफाले नै त बीमा क्षेत्र चल्ने हो । यस्तोमा बीमा पोलिसी सरेन्डर हुँदा पक्कै पनि कम्पनीलाई घाटा हुन्छ, सँगै बीमितलाई पनि घाटा हुन्छ ।
प्रायः कस्ता बीमितहरुले बीमा सरेन्डर गरिरहेका हुन्छन ? कस्तो पोलिसी सरेन्डर बढी हुन्छ ?
आफै यसको आवश्यकता बुझेर बीमा गर्नेहरूलाई बीमा सरेन्डर गर्ने अवस्था आउँदैन । विशेष त विदेश गएकाहरुको सरेन्डर केस बढी आउँछ । किनकि बाहिर गएकाहरुको परिवारका सदस्यहरुले चिनजानको एजेन्ट भन्दै बुझ्दै नबुझी बीमा गर्नुभएको हुन्छ । पछि परिवारमै कुरा नमिलेर समस्या आउँछ । अर्को कुरा भनेको आर्थिक समस्या । सबैको आर्थिक अवस्था सधैं एकनास नहुँदा र आफ्नो आम्दानीले आफैलाई नपुग्ने भएपछि यस्ता सरेन्डरका केसहरु आउँछन । व्यवसाय गर्ने व्यवसायीहरुलाई पनि मन्दीको बेलामा यता तिर्नुभन्दा बरु लगानी लगाउन सके आफुलाई नाफा हुन्छ भन्ने हुँदा सरेन्डर गर्न आउनुहुन्छ । यही पोलिसी भन्ने त हुँदैन किनभने पोलिसीको प्राविधिक कुराहरू त धेरैले बुझेकै हुँदैन । यो धेरै कमले मात्रै बुझेको हुन्छ । यस्तो भएपछि यही पोलिसी सरेन्डर गर्ने भन्ने हुँदैन ।
सरेन्डर घटाउन बीमितलाई के कस्ता प्रोत्साहनका कार्यक्रम गर्न सकिन्छ ?
सरेन्डर घटाउन त तालीम नै दिनुपर्छ । कर्मचारी नै नियुक्ती गर्दा नै सक्षम हुनुपर्यो । यो क्षेत्र राम्रोसँग बुझेको हुनुपर्यो । अहिले त समान्य परिक्षा लिने भइरहेको छ । विगतमा त त्यो प्रावधान पनि थिएन । एजेन्सीले नै पनि कतिपय कुरा राम्रोसँग बुझेको नै हुँदैन । यस्तोमा उसले आफुले बुझेको कुरा ग्राहकहरुलाई बुझाउन नसकेपछि ग्राहकले बीमाको फाइदा नै बुझेको हुँदैन । यस्तोमा बीमा किन गर्ने भन्ने प्रश्न आउँछ । त्यसैले यसका लागि सबै कम्पनीले तालीमै बढी जोड गर्नुपर्छ । एजेन्ट, एजेन्सी, कर्मचारीलाई जति शिक्षित गराइयो त्यति नै उहाँहरुले अरुलाई बुझाउन सक्नुहुन्छ । कम्पनीसँगै सञ्चारमाध्यमबाट पनि त्यस्तै किसिमका समाचारहरु प्रकाशित हुने र नियामक निकायले पनि त्यस्तै किसिमको काम गर्दियो भने सरेन्डरका केसहरु कम गर्न सकिन्छ ।
बीमा सरेन्डरको बढ्दो दरले बीमा कम्पनीमाथि नै प्रश्न उठ्ने गर्छ नि, यसलाई कसरी हेर्नुहुन्छ ?
बीमा कम्पनीमाथि प्रश्न उठ्छ नै । यस्तो अवस्थामा सबै कुरा हाम्रो नियन्त्रणमा पनि हुँदैन । शाखाहरुमा कुनाकाप्चादेखि विभिन्न किसिमको पोलिसी आइरहेको हुन्छ । त्यसमा प्राविधिक कुरा त जेकजाँच गरिन्छ तर सबै कुरा हामीलाई पनि थाहा हुँदैन । त्यसैले यो असक्षमता भन्दा पनि हाम्रो नियन्त्रणमा नभएको कुरा हो ।
सिटीजन लाईफ इन्स्योरेन्समा बीमा सरेन्डरका केसहरु कति छन ?
सिटिजनमा पनि सरेन्डरका केसहरु छन । विगतमा अन्य कम्पनीसँगको तुलनामा कमै हो । तर यो बर्ष आर्थिक मन्दीले गर्दा सरेन्डरका लागि धेरैले सोधपुछ गर्नुहुन्छ । तर यसमा सरेन्डरका लागि जसले हामीलाई सोध्नुहुन्छ उहाँहरुलाई हामीले सकेसम्म बुझाउँछौँ । कतिपयले त नबुझेर सरेन्डर गर्नुहुन्छ भने कतिपयले यहाँ आएर बुझेपछि सरेन्डर नगर्ने बीमितहरु पनि हुनुहुन्छ ।
प्रतिक्रिया