नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त


काठमाडौं – नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।

हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । थापा प्रहरीकाे विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पुरा गरेपछि बाहिरिन लागेका हुन् । थापासँगै अन्य एआईजी समेत अवकाशमा जाने भएसँगै ३२औँ आईजीपीका लागि प्रतिस्पर्धाको बाटो खुलेको थियाे । र, यो पदका लागि २०५२ सालकै तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी थिए ।

उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य समेत अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण भदौ १४ मै अवकासमा गइसक्नेछन् । जसकारणले गर्दा २०५२ सालमा इन्स्पेक्टर पद नियुक्त भएका एक मात्र प्रतिस्पर्धी खापुङ रहेका थिए ।

को हुन् खापुङ ?

खापुङ डीआईजी हुँदा कोसी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमानदार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठुलो विवादमा परेका छैनन्।

खापुङ आईजीपी भएसँगै एउटै ब्याजमा इन्स्पेक्टरको भूमिकामा प्रहरी प्रशासन छिर्नेहरू मध्येबाटै ३ जना प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखका रूपमा रहेका उनी अहिलेसम्म इमानदार तथा विवादरहित भएर काम गरी रहेका छन् ।