काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा तराई मधेस आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय गरेका छन् । द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरूको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरूलाई सोध भर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् ।
अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा अब व्यवस्था हुनेछ । अङ्गभङ्ग भएकाहरूलाई कृत्रिम अङ्ग समेत प्रदान गर्ने गरी कार्यविधिले सम्बोधन गरेको छ ।
घाइतेहरूको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार हुनेछ । कार्यविधिले उपचार पश्चात् अस्पतालहरूलाई भुक्तानी सहज बनाउने अपेक्षा गरिएको छ । यस अघि उपचार हुँदै आए पनि बजेट निश्चित नहुँदा उपचारमा समस्या तथा अस्पतालहरूलाई समेत समस्या परेको गुनासो आउने गरेको थियो ।
यसपालि मन्त्रालयले घाइतेहरूको उपचारका लागि बेग्लै बजेट समेत विनियोजन गरेको छ । बजेट तथा उपचारको सीमितताका कारण समस्या भोगेकाहरूको समस्या सदाका लागि सम्बोधन हुने गरी कार्यविधि आएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यविधि स्वीकृत भए पछि घाइतेहरूको उपचारमा लामो समयदेखि देखिएको समस्या समाधान हुने बताए । ‘अहिलेसम्म उपचारमा देखिएको समस्या यसले सम्बोधन गर्नेछ,’ उनले भने ।






About Us
प्रतिक्रिया