नेशनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी

नक्कली नोट प्रकरणपछि सम्पत्ति शुद्धीकरण मुद्दामा फसे अन्सारी


काठमाडौं – नेशनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ। उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसनधानका आधारमा मुद्दा दायर भएको हो । ब्युरोले उनीविरुद्ध गत शुक्रबार नै मुद्दा दर्ता गरेकाे प्रवक्ता युवराज खड्काले बताए । 

ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता खड्काले बैंकिङ्ग समचारसँगको कुराकानीमा बताएका छन् । उनलाई एक महिनाअघि नै पक्राउ गरिसकेको उनले बताए। 

अन्सारीलाई योभन्दा पहिला फेक करेन्सी कारोबारमा पक्राउ गरिएको थियो । उनलाई डिल्ली बजारस्थित कारागारमा रहँदा नैपक्राउ गरी सीआइबीले अनुसन्धान गरी मुद्दा दायर गरेकाे ब्युरोका प्रवक्ता खड्काले बताए । गत महिना मात्र कारागारबाट छुटेका अन्सारीलाई सीआइबीले नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको कसुरमा बयान लिएर अर्को मुद्दा दायर गरेको हो । 

अन्सारीले नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गा/जमिन खरिदबिक्री लगायतमा लगानी गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनी नेसनल टेलिभिजनका अध्यक्ष समेत रहका छन् । तर, उक्त टेलिभिजन हाल बन्द भइसकेको छ ।

प्रवक्ता खड्काका अनुसार उनले  विभिन्न समयमा स्रोत नखुलेको रकमको उपयोग गर्ने र कारोबार लुकाउने गर्दै आएका थिए। अन्सारी भारतीय जाली नोटको ओसारपसारमा संलग्न रहेको अभियोगमा ६ वर्ष कैद सजाय भुक्तान गरी २०८२ जेठ १७ मात्र ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यस लगत्तै सिआइबीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान सुरु गरेको थियो । योभन्दा अघि २०७६ जेठ १० मा उनको बैंकिङ्ग कारोबार केलाउँदा उक्त ट्रान्जेक्सन देखिएको थियो । 

अन्सारीमाथी २०६७ सालमा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलामा गोली प्रहार समेत भएको थियो । भारतीय सुटर जसजित सिंहले जेलभित्रै छिरेर उनीलाई गोली हानेका थिए । त्यस बेलामा अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली पड्किएन । पाचौं गोली भने अन्सारीको कुममा लागेर उछिट्टिएको थियो । 

शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका अन्सारीलाई जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयानका लागि आज उपस्थित गराइएको छ । उनी सबैभन्दा पहिला २०६६ सालमा भारतीय जाली नोटसहित पक्राउ परेका थिए । साे समय उनी नेसनल टेलिभिजनका अध्यक्ष रहेका थिए । त्यसपछि उनी २०६७ मा दोस्रो पटक जाली नोटसहित पक्राउ परेका थिए । तेस्रो पटक २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । 

साथै, २०७६ मा उनी  पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनी कारागारमा नै रहेका थिए । उनलाई कारागारबाट सिधै पक्राउ गरी सीआइबीको कारागार लगिएकाे ब्युरोका प्रवक्ता खड्काले बताए । यसपटक पक्राउ परेर जेल परेका उनी हिरासतमा रहेको करिब एक महिना पुग्न लागिसकेको छ।