विभिन्न जिल्लामा ज्योति विकास बैंकले बाँड्यो बेबी वार्मर


काठमाडौं – ज्योति विकास बैंकले रोल्पा जिल्लास्थित घर्तीगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । 

बैंकले रोल्पा जिल्लाको घर्तीगाउँ लगायत, स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मी जिल्लाको पुर्तीघाटस्थित हेल्थ पोस्टमा सो उपकरण प्रदान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो।

यसका अतिरिक्त बैंकले गुल्मी जिल्लाको पुर्तिघाट हेल्थ पोस्टमा र स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ स्थित अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत यी ३ वटा बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। 

यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको हो । 

साथै, हालसम्मको योगदानले करिब ११ हजार ४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोडले राजस्वमा योगदान पुर्याएको छ । साथै चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ ।ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।