काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा डेपुटी गभर्नर नीलम ढुंगाना सहभागी हुने भएकी छिन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शमा डेपुटी गभर्नर तिम्सिना सहभागी हुने भएकी हुन् ।
झापामा जन्मिएकी नीलमले २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट पूरा गरेकी हुन् । सानैदेखि पढाइमा अब्बल उनले आइकममा जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याएकी थिइन् । दमकमा आइकम सकाएपछि ‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भइन् । उनले स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो समेत बनेकी थिइन् ।
उनले राष्ट्र बैंकको विभिन्न विभाग र विभिन्न कार्यालयहरु सम्हालिसकेकी छिन् । उनले राष्ट्र बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छिन् । उनले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गरेकी छिन् ।
केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरेकी छिन् । उनले राष्ट्र बैंकको कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताएकी छिन् । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भएको हो ।
नेपालको बैंकिङ्ग क्षेत्रको दिगो विकास, स्थायित्व र यो क्षेत्रलाई उत्तरदायी बनाउने लक्ष्यसहित विगत २ वर्षदेखि बैंकिङ्ग समाचारले राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्श आयोजना गर्दै आइरहेको छ । बैंकिङ्ग डिस्कोर्शमा उपस्थित हुने नीति निर्माता, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र विभिन्न सरोकारवालबिच घनिभूत रुपमा बैंकिङ्ग क्षेत्र र समग्र अर्थतन्त्र विकासको लागि छलफल र बहस हुने गर्छ ।
डिस्कोर्शको उद्घाटन भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री पौडेल, नीलमसहित राष्ट्र बैंक, नीजि क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरुको समेत उपस्थिति रहने छ । कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।
‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन्।





About Us
प्रतिक्रिया