बैंक अगाडि दलाल, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने चेतावनीसहित शङ्कास्पद प्रेसर कुकर..


काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित कृषि विकास बैंक अगाडि फेला परेको प्रेसर कुकरमा बम नभएको पुष्टि भएको छ । शनिबार बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा फेला परेको भनिएको सो कुकरमा बम नभएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एक प्रहरी अधिकारीले बैंकिङ्ग समाचारसँग कुरा गर्दै ती अधिकारीले भने,‘नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्न खोज्दा डिस्पोज भएन। खोलेर हेर्दा भित्र खाली रहेछ । कुकरमा रातो पहेलाे रंगका बिजुलीका तारहरू पनि जोडिएका थिए।’ 

सो शङ्कास्पद कुकरमा दलाहरू दलालहरू जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ भनेर लेखिएको थियो । उनले थपे,’ यस विषयमा थप अनुसन्धान भइरहेको छ । कसले के नियतले राखेको भन्ने अझै पुष्टि भएको छैन।’ बैंक अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए।