आजबाट निफ्राकाे ५ अर्बको ऋणपत्र बिक्री खुला


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेबाट (आजदेखि)  ५ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ हजार रुपैयाँको अंकित दरले ५० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

बैंकले यसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकीको २० लाख  इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ ।  यसबाट १ लाख  ऋणपत्र सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको हो। 

निफ्राले ७ वर्षे अवधिको ६ प्रतिशत निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८/८९ नामकको ऋणपत्र निष्कासन गरेको हो । यसबाट बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र खुला गरेको छ।

यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस ऋणपत्रमा जेठ २१ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिन्छ। यस ऋणपत्रमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र  मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ।