बजेट कार्यान्वयनको स्कोर कार्ड बनाएर सार्वजनिक गर्ने परिपाटी सुरु गरिनुपर्छः डा.श्रेष्ठ


काठमाडौं – राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले बजेट कार्यान्वयनको स्कोर कार्ड बनाएर सार्वजनिक गर्ने परिपाटी सुरु गरिनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटमा टिप्पणी गर्दे उनले सो बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत बजेटमा केही कुराहरू धेरै वर्षदेखि दोहोरिएको समेत बताएका छन् । श्रेष्ठले बजेटलाई लक्षित गर्दै लेखेका छन्, ‘मुख्य कुरा भनाई र गराइको अन्तर कम गर्नुछ । केही कुराहरू धेरै वर्षदेखि दोहोरिएका छन् कार्यान्वयन जान सकेका छैनन्। बजेट कार्यान्वयनको स्कोर कार्ड बनाएर सार्वजनिक गर्ने परिपाटी सुरु गरिनु पर्छ ।’

उनकाे बजेट सम्बन्धी टिप्पणी जस्ताकाे त्यस्तैः

बजेट २०८२/८३ लाई देहायका तीन पक्षबाट हेर्नु उचित हुने देखिन्छ।

१. नीतिगत: नीतिहरु राम्रै छन् । लगानी प्रवर्द्धन गर्न खोजेको छ । उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगका सुधारहरू केही समेटेको छ ।

२. कार्यक्रम र आयोजनागत : पुरानै कार्यक्रम ले थिचिएको छ। पर्याप्त स्रोतको अभाव छ तर थुप्रै कार्यक्रम र आयोजनाहरु विगतमा नै शुरु भएका छन । यी कार्यक्रम र आयोजनाहरु समयैमा नै सम्पन्न गर्ने चुनौती छ। थप प्राथमिकरण गर्नु पर्ने आवश्यकता छ। प्रतिफलको मूल्याकंन नभएका महत्वकांक्षी नयाँ कार्यक्रम छैनन, जुन राम्रै हो ।

३. लक्ष्यगत : आर्थिक वृद्धि र मूद्रास्फितिको लक्ष्य उपयुक्त नै रहेको छ। कुल बजेट चालु वर्षको संशोधित अनुमान भन्दा १८ प्रतिशतले बढी छ, तर संशोधित अनुमान नै केही बढी छ । राजस्वको लक्ष्य पनि त्यस्तै छ , तर गत वर्षको जस्तो उच्च लक्ष्य राखिएको छैन । आन्तरिक ऋणको वृद्धिदर संयमित ढंगले उपयुक्त राखिएको छ । वैदेशिक सहायता भने महत्वाकांक्षी राखिएको छ । आयोजना‌ कार्यान्वयन प्रभावकारी बनाइ वैदेशिक सहयोगको प्रतिबद्धता लिन सकिनु पर्ने हुन्छ। स्रोतमा दवाव परेको अवस्थामा पनि वित्तीय हस्तान्तरणको रकम बढेको छ । यसैका आधारमा प्रदेश र स्थानीयले बजेट बनाउने हुनाले भनेको रकम भने दिनु पर्छ ।

मुख्य कुरा भनाई र गराईको अन्तर कम गर्नुछ । केही कुराहरु धेरै वर्षदेखि दोहोरिएका छन् कार्यन्वयन जान सकेका छैनन्। बजेट कार्यान्वयनको स्कोर कार्ड बनाएर सार्वजनिक गर्ने परिपाटी शुरु गरिनु पर्छ ।