काठमाडाैं- नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले आगामी पुस्ताको लागि डिजिटल प्रविधिको यात्रामा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौ फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले डिजिटल कारोबारलाई विस्तार गर्दै जाने बताउँदै मोबाइल प्रविधि प्लेटफर्ममार्फत डिजिटल कारोबार विस्तार गर्ने बताएका हुन् ।
उनले डिजिटल प्रविधिले स्मार्ट, सुरक्षित र प्रयोगकर्ता-मैत्री व्यवस्थापनको नयाँ युगतर्फ मार्गदर्शन गर्ने बताएका छन् । उनले डिजिटल प्रविधिमा नै केन्द्रित रहेर बैंकहरुले टेक्स्ट र आवाज दुबैमा प्रतिक्रिया दिन सक्ने क्षमतायुक्त एआई-आधारित च्याटबोट निर्माण गरिसकेको पनि बताए । रेग्मीले आगामी दिनमा साइबर सुरक्षालाई मध्यनजर गर्दै कृत्रिम बुद्धिमत्ता (एआइ) र मेसिन लर्निङ प्रविधिमा आधारित परियोजनाहरूको पनि अध्ययन गरिरहेको बताए । उनले एआईले प्रशिक्षण दक्षता र लागत ट्र्याकिङमा बैंकहरुलाइ अत्यन्तै ठुलो योगदान पुर्याउने बताए ।
ग्लोबल आईएमई बैंकका सीईओ समेत रहेका रेग्मीले नेपालको वित्तीय र आर्थिक विकासको भविष्यलाई आकार दिन नेपाल फिनटेक फेस्टिभल २०२५ ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पछिल्लो समय निजी क्षेत्र पनि प्रविधि भित्र्याउन लागिरहेको बताउँदै जसले नवप्रवर्तन गर्न र परिवर्तन ल्याउन सशक्त आधार तयार गर्ने बताए । यसले नेपालको वित्तीय समावेशीकरण र पहुँच सुधार गर्न सहयोग गर्ने उनको भनाइ छ ।



About Us
प्रतिक्रिया