कर्मचारीभन्दा २४० गुणा बढी तलव खान्छन् भारतीय कम्पनीका हाकिमहरु

कर्मचारीभन्दा २४० गुणा बढी तलव खान्छन् भारतीय कम्पनीका हाकिमहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतमा प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रबन्ध निर्देशक (एमडी) र कम्पनीका अन्य शीर्ष अधिकारीहरूले सामान्य कर्मचारीसँगका सेवा, सुविधा र तलब अन्तर झनै फराकिलो पारेका छन् । डाटा ट्र्याकर प्राइम इन्फोबेसको विश्लेषणले यस्तो देखाएको हो । 

विश्लेषण अनुसार अहिले भारतमा औसत शीर्ष कार्यकारीहरूले आम कर्मचारीको तुलनामा २४१ दशमलव २ गुणा धेरै तलब थापिरहेका छन् । आर्थिक वर्ष २०२२ को आँकडा आव २०१९ को भन्दा धेरै छ । त्यतिबेला यो अन्तर २१८ गुणा थियो । आव २०२० मा यो घटेर १९१ दशमलव ८ मा आएको थियो । आव २०१९ मा औसत शीर्ष कार्यकारीहरूको वार्षिक तलब सुविधा १० करोड ३० लाख रुपया नाघेको थियो । अहिले यो १२ करोड ७० लाख रुपया पुगेको छ । अर्थात् एक महीनाको तलब सुविधा नै एक करोडभन्दा धेरै छ । तर, औसत कर्मचारीको तलब सुविधा ८ लाख २० हजार रुपया मात्रै छ ।

गत आवमा सबैभन्दा धेरै तलब सुविधा पाउने कार्यकारी जयपुरस्थित एयू स्मल फाइनान्स बैंक (एसबीएफ) का कार्यकारी उत्तम टिब्रेवाल हुन् । उनले २ अर्ब २१ करोड ३० लाख रुपया थपेका छन् । यसमा १ अर्ब १९ करोड ५९ लाख रुपया बराबरको चाहिँ स्टक अप्सन रहेको छ ।

कम्पनीले मुख्य कर्मचारीहरूलाई पुरस्कारस्वरूप बेच्न मिल्ने शेयर दिने गरेका छन् । दोस्रो धेरै तलब सुविधाचाहिँ मुम्बईस्थित क्रोम्पटन ग्रिभ्स कञ्जुमर इलेक्ट्रिकल्सका एमडी शान्तनु खोस्ला हुन् । उनले पनि १ अर्ब रुपयाको स्टक अप्सनसहित १ अर्ब १० करोड ८२ लाख रुपया पाएका छन् । शीर्ष कार्यकारीहरूलाई कामप्रति उत्प्रेरित गर्न कम्पनीहरूले निश्चित अवधिपछि बेच्न मिल्ने शेयर पनि दिने गरेका छन् ।

सूचना प्रविधिलगायत केही क्षेत्रमा कार्यकारी र औसत कर्मचारीहरूबीचको सेवा सुविधा अन्तर ३८० गुणा बढी छ । भारतमा अधिकांश क्षेत्रमा औसत कर्मचारीको वार्षिक कमाई १० लाख रुपयाभन्दा कम छ । वार्षिक १० लाख रुपयाभन्दा धेरै वार्षिक औसत कमाई हुनेमा ऊर्जा, बिजुली, औद्योगिक र वित्त क्षेत्र छन् ।

एजेन्सी