नेपालको फाइभजी प्रविधिमा मा हुवावेले सहयोग गर्ने

नेपालको फाइभजी प्रविधिमा मा हुवावेले सहयोग गर्ने


काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको छ । ‘ड्राइभिङ अ ग्रिनर डिजिटल फ्युचर’ नारासहित आयोजना गरिएको यो समिट नेपालका अग्रणी प्रविधि पत्रकारहरू र हुवावे नेपालका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो ।

आईतबार आयोजित उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको उपस्थिति थियो । साथै, हुवावे नेपालका विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी थिए । कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल विकासका सम्भावनाहरू, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग, र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा हुवावे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हाइले नेपाली प्रविधि पत्रकारहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे । उनले भने, ‘नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन हामी टिजेएफबीसँग सहकार्य गर्न पाएकोमा गर्व गर्छौं । भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने हाम्रो अठोट छ ।’

हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले हुवावेले विश्वभर प्रविधिको माध्यमबाट पुर्याएको योगदानबारे जानकारी गराए । उनका अनुसार, हुवावे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिन सफल भएको छ ।

‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पु¥याउनु हो। नेपालमा पनि हुवावेले विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गरिरहेको छ,’ उनले थपे ।

कार्यक्रममा टिजेएफका अध्यक्ष उमेश पौडेलले नेपालमा प्रविधि पत्रकारितालाई थप फराकिलो पार्नका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए । नेपालमा प्रविधिको क्षेत्रको बुझाइमा ठूलो अन्तर रहेको भन्दै उनले यस क्षेत्रलाई थप क्रियाशिल र प्रभावकारी बनाउनका यस्ता कार्यक्रहले सहयोग पुग्ने बताए ।