बैंकिङ्ग ट्रेनिङ सेन्टरको आयोजनामा ‘प्रोग्रेसिभ फाइनान्स’का कर्मचारीलाई तनाव व्यवस्थापन तालिम

बैंकिङ्ग ट्रेनिङ सेन्टरको आयोजनामा ‘प्रोग्रेसिभ फाइनान्स’का कर्मचारीलाई तनाव व्यवस्थापन तालिम


काठमाडौं – बैंकिङ्ग ट्रेनिङ सेन्टरसँगको सहकार्यमा प्रोग्रेसिभ फाइनान्सका कर्मचारीलाई तनाव व्यवस्थापन तालिम (स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ) कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्रमा काम गर्ने क्रममा आइपर्ने विभिन्न प्रकारका तनाव व्यवस्थापन गर्ने तरिका सिकाउने लक्ष्यसहित प्रोग्रेसिभ फाइनान्सका ७० भन्दा बढी कर्मचारीलाई उक्त तालिम दिइएकाे हाे ।

शनिबार होटेल क्राउन इपेरियलमा आयोजित तालिममा पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सदीक्षा श्रेष्ठले व्यक्तित्व विकास र कसरी प्रभावकारीरुपमा सञ्चार गर्ने विषयमा प्रशिक्षण दिइन् । त्यस्तै, तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रसन्न विष्टले तनाव न्यूनीकरण गर्ने उपायबारे  प्रशिक्षण  दिएका थिए ।

बिहान ९ः४० देखि अपराह्न ४ः३० सम्म भएको प्रशिक्षण कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध सहभागीहरूले तालिमपछि व्यावसायिक जीवनमा राहत पुग्ने प्रतिक्रिया दिए । यस्तै, व्यावसायिक जीवन र व्यक्तिगत जीवनबीच प्रभावकारीरुपमा तालमेल गर्ने तरिका र वित्तीय क्षेत्रमा तनावरहित काम गर्ने उपायबारे जान्ने मौका मिलेको समेत उनीहरूले बताए ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले तनाव व्यवस्थापनसँग सम्बन्धित तालिम फलदायी बनेको बताए । यस्तै, उनले तालिमबाट आफ्ना कर्मचारी लाभान्वित बन्ने र भावी दिनमा व्यवसायीक र व्यक्तिगत जीवनको तालमेल मिलाउने सहज उपायबारे जानकार भएको बताए ।

यस्तै, बैंकिङ्ग ट्रेनिङ सेन्टरकी ट्रेनिङ कोअर्डिनेटर सलिना भट्टराईले यस प्रकारको तालिमको आयोजनाले संस्थागत कार्यक्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अपेक्षा रहेको बताइन् । उनले कर्मचारीलाई दिइने यस प्रकारको तालिमले संस्थागत काममा कर्मचारीको समय व्यवस्थापन र कार्यक्षमता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताइन् ।

बैंकिङ्ग ट्रेनिङ सेन्टर बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध जनशक्तिहरूको सारथि बन्ने उद्देश्यका साथ सञ्चालनमा आएको संस्था हो। जसले बैंकिङ्ग क्षेत्रमा आवद्ध जनशक्तिहरूको क्षमता विकास र तनाव व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निवार्ह गर्ने गर्छ ।