काठमाडौं – नबिल बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो ।
बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैह्रबैंकिङ्ग सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागेको हो ।
यस्तै, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैह्रबैंकिङ्ग सम्पत्ति लिलाममा राखेको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र अर्थात् मंसिर ९ गतेसम्म कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।
बैंकबाट ऋण लिएर भाखा नाघेपछि पनि नतिरेका ऋणीको सम्पत्तिलाई बैंकले बेच्ने प्रयास गर्दा पनि नबिकेपछि आफ्नो नाममा सकारेको सम्पत्ति नै गैरबैंकिङ्ग सम्पत्ति हो ।
प्रतिक्रिया