बजार घट्नुको कारण छानबिन गर्न लगानीकर्ताहरूकाे माग

बजार घट्नुको कारण छानबिन गर्न लगानीकर्ताहरूकाे माग


काठमाडौं – ३ हजार अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर घटेपछि अप्राकृतिक रूपले घटेको बजारसम्बन्धी छानबिन गर्न लगानीकर्ताहरूले माग राखेका छन् । बजार घट्नुपर्ने ठोस् कारणविनै निरन्तर ओरालो लागेर यतिबेला २४ सय अंकको बिन्दुमा आइपुगेको छ । यससँगै शेयर बजारको गिरावट देखेर लगानीकर्ताहरूले छानबिन गर्न माग राखेका हुन् ।

शेयर लगानीकर्ताहरूको ४ वटा संघ जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितो पत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

संघहरूले विज्ञप्ति जारी गर्दै शेयर बजार घट्नुपर्ने कारण नरहेको उल्लेख गरेका छन् । उनीहरूले भनेका छन्, ‘बजार घट्नुपर्ने कुनै पनि प्राकृतिक कारण छैन । तर, पनि निरन्तर घटिरहेको छ ।’

पुँजीबजार घट्नुपर्ने मौलिक कारण नरहे पनि करिब १ महिनाको अवधिमा ६ सय अंक हाराहारीले घटिसकेको छ । बजार घट्न थालेपछि लगानीकर्ताहरूको संघले अर्थ मन्त्रालय, धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा पुगेर गुनासो समेत गरिसकेका छन्।

लगानीकर्ताहरूको गुनासोपछि अर्थमन्त्री स्वयम् नेप्सेको कार्यालय पुगेर शेयर बजारबारे चासो राखेका थिए । तर, उनको चासोपछि पनि बजारले उकालो यात्रा तय गर्न सकेको छैन ।

अर्थमन्त्रीको सक्रियतापछि पनि बजार नबढेपछि घट्नुको कारण छानबिन गर्नुपर्ने माग संयुक्तरुपमा लगानीकर्ताहरूको संघले राखेका हुन् । ‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितो पत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।