शेयर बजारको ओरालो यात्रा कायमै, २४ सय अंकको बिन्दुतर्फ परिसूचक

शेयर बजारको ओरालो यात्रा कायमै, २४ सय अंकको बिन्दुतर्फ परिसूचक


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो यात्रा आज सोमबार पनि कायम रहेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११ अंकभन्दा बढीको वृद्धि देखिएपनि त्यसले निरन्तरता पाएन । यसले नेप्सेको गिरावट निरन्तर रहेको देखाएको हो ।

आइतबार ११ अंकले बढेपनि आज सोमबार ५९.०२ अंकले घट्यो । यससँगै नेप्से परिसूचक २५ सय २९ अंकमा कायम भएको छ । आज २.२८ प्रतिशतले घट्दा ५ अर्ब ६६ करोड ३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यसक्रममा आज १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ । परिसूचक उच्च अंकले घटेपनि १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यसबाहेक २२९ कम्पनीको शेयर मूल्य घट्दा एक कम्पनीको मूल्य स्थिर कायम छ ।

नेप्से परिसूचक ठूलो अंकले घट्दा सबैजसो समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहमा २९६ अंकले घटेको छ । यसबाहेक होटल तथा टुरिजम समूहमा २१३ अंकको गिरावट आएको छ ।

यस्तै वित्त, विकास बैंक, लघुवित्त, उत्पादनमूलक लगायतका समूहमा समेत १०० अंकभन्दा बढीको गिरावट आएको छ । आज ५९ अंकले परिसूचक घटेपनि हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ ।

यता सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा ४ वटा कम्पनी परेका छन् । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड र इस्र्टन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको हो । यसबोहक सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल फाइनान्स परेको छ ।

आज यो कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।