जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा


जुम्ला – यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर रहेका छन् ।

गाउँपालिकाबाट शिक्षा शाखा प्रमुख शङ्कर धितालले भने, ‘जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा सङ्कलन गरिएको तथ्याङ्कले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ ।’

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ ।

हिमाको कूल १२ हजार आठ सय जनसङ्ख्यामध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर छन् । शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्याङ्क सङ्कलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाइँले कूल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए । गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीन सय ८० जना मात्रै भेटिएका थिए ।

उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ । पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका छन् ।

साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द भण्डारीले बताए । तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेका छन् ।