दशैंमा नयाँ नोट नपाउने भएपछि के भन्छन् सर्वसाधरण ?

दशैंमा नयाँ नोट नपाउने भएपछि के भन्छन् सर्वसाधरण ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले यस पटकको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । चाडपर्वमा वितरण गरिएको नयाँ नोटमा दशैं र तिहारमा प्रयोग हुने रंग लाग्ने गर्छ । जसकारण नोटको आयु छिट्टै सकिन्छ र राज्यकोषमा भार पर्छ ।

दशैं अघि नयाँ नोट वितरण गर्दा राज्यकोषमा प्रतिवर्ष कम्तिमा १ अर्ब ३० करोड रुपैयाँको भार थपिने गरेको जनाइएको छ । यही भारलाई न्यूनीकरण गर्ने लक्ष्यसहित केन्द्रीय बैंकले नयाँ नोटलाई बजार पठाउने समय परिवर्तन गर्ने निर्णय गरेको हो । अब दसैं तिहारको सट्टा अर्को कुनै समयमा नयाँ नोट बजार पठाइनेछ ।

यसो गर्दा नयाँ नोटको प्रयोग घट्छ । प्रयोग घटेसँगै नयाँ नोट खिइने र चाडपर्वमा प्रयोग हुने रंग समेत लाग्दैन । सामान्यतया अन्य समयमा बजारमा आएका नयाँ नोटको प्रयोग समेत चाडपर्वको तुलनामा न्युन हुन्छ । जसका कारण नोटको आयु लम्बिन जान्छ ।

यहीकारण राष्ट्र बैंकले यसपटकदेखि दशैंअघि नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको छ । यससँगै वर्षौंदेखि दशैंमा नयाँ नोट खेलाउने बानी परेका सर्वसाधारणले यसपटक पाउने छैनन् । दशैंका लागि वितरण हुने नयाँ नोट यही असोज १३ गतेखि २२ गतेसम्म वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

वर्षौंदेखि दशैंमा नयाँ नोट चलाएका सर्वसाधारण केन्द्रीय बैंकको सुकिलो नोट दिने निर्णयबाट दुःखी बनेका छन् । यस्तै केही सर्वसाधारण भने राज्यकोषको अतिरिक्त भार जोगिने भएपछि खुसी देखिन्छन् ।