२०औं वर्षमा एनसेल, फाउन्डेसनमार्फत सीएसआरमा २० करोड खर्च गर्ने घोषणा

२०औं वर्षमा एनसेल, फाउन्डेसनमार्फत सीएसआरमा २० करोड खर्च गर्ने घोषणा


काठमाडौं – नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २०औं वर्षमा प्रवेश गरेको छ । आज १९औं वार्षिकोत्सव मनाएसँगै एनसेल २०औं वर्षमा प्रवेश गरेको हो ।

यस अवधिमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाम प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कामहरुमा गरी २ अर्ब १ करोड ५० नाख अमेरिकी डलरभन्दा बढिको योगदान गरेको कम्पनीले जनाएको छ ।

‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनमेल फाउन्डेसनको स्थापना गरेका हौं,’ प्रमुख कार्यकारी अधिकृत जाब्बाेर कायमोभले भने ।

एनसेलले फाउन्डेसन सुरु गर्नुको लक्ष्य थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्य, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो ।

साथै, आफ्‌ना परिवारजन तथा आफन्तहरुसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो । कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गरेको थियो ।

गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राक्तिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड रुपैयाँ सहयोग प्रदान गराएको थियो । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिवद्धता जनाएको छ ।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेगा गोवर्धनलाई सम्मान पनि गरेको छ ।