साउनमा बढ्यो शेयर धितो कर्जा, ७१ अर्बभन्दा बढी प्रवाह

साउनमा बढ्यो शेयर धितो कर्जा, ७१ अर्बभन्दा बढी प्रवाह


काठमाडौं – साउन महिनामा शेयर लगानीकर्ताले ७१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा लिएका छन् । असार १७ गतेदेखि शेयर बजार निरन्तर बढ्न थालेपछि लगानीकर्ताले साउन महिनामा ७१ अर्ब शेयर धितो कर्जा लिएका हुन् ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा ७१ अर्ब ६९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो । यस्तो कर्जा गत वर्ष २०८० को साउन महिनामा ५८ अर्ब ९० करोड रुपैयाँको प्रवाह भएको थियो ।

असार १७ गते राती दुई ठूला राजनीतिक दलहरुबीच सत्ता साझेदारीको सम्झौतासँगै बजार निरन्तर बढ्दो अवस्थामा छ । यससँगै लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा ऋण लिएर लगानी बढाइरहेका छन् ।

शेयर धितो कर्जा असार महिनामा ७० अर्ब ३४ करोड रुपैयाँ प्रवाह भएको थियो । यस्तै, जेठमा ६८ अर्ब ६२ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो । यद्यपि यतिबेला शेयर बजार ओरालो गतिमा छ ।

२ हजार अंकको बिन्दुबाट बढेर ३ हजार अंकमा पुगेपछि फेरी २५ सय अंकको बिन्दुमा परिसूचक आइपुगेको छ । असार र साउनमा बढेको शेयर बजार भदौमा भने घटिरहेको छ । यसको प्रभाव भदौ महिनाको शेयर धितो कर्जा प्रवाहमा देखिन सक्छ ।