काठमाडौं – लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएको छन् । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको उक्त आयोजनाका लागि लगानी जुटेको हो ।
आइतबार आयोजनाको प्रबर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट विनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत लगानी गर्ने छन् । आयोजनामा बैंकको लगानी १२ अर्ब २० करोड लगानी रहने छ । बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जीले जनाएको छ ।
आयोजनामा ग्लोबल आईएमई, एभरेष्ट, एसबीआई, कृषि विकास र लुम्बिनी विकास बैंकले लगानी गर्ने भएका हुन् । अन्नपूर्ण विद्युत विकास प्रालिद्वारा प्रबर्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ ।
आयोजनाको हेडवक्सदेखि विद्युत गृहसम्मको उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत् आयोजनाहरूमा यो उचाइ सबैभन्दा धेरै हो । आगामी कार्तिक महिनाबाट आयोजनाको भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासले जनाएको छ ।



About Us
प्रतिक्रिया