सुनचाँदी धितो राखेर बैंकले दिए ५३ अर्ब कर्जा

सुनचाँदी धितो राखेर बैंकले दिए ५३ अर्ब कर्जा


काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ असार मसान्तसम्म वाणिज्य बैंकले सुनचाँदी धितो राखेर ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन गत आर्थिक बर्षको भन्दा ५.६३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षमा १५ वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर प्रवाह गरेको ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जामध्ये सबैभन्दा धेरै ऋण नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेका छन् ।

नेपाल बैंकले साेअवधिमा २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो ऋण अघिल्लो वर्षको भन्दा १८.५३ प्रतिशतले बढी हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षको अवधिमा ८ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने ८ वटै बैंकको बढेको छ । ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चाटर्ड बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंकले भने सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

कुन बैंकले कति दिए ?

नेपाल बैंक – २२ अर्ब ३३ करोड

राष्ट्रिय वाणिज्य बैंक– २० अर्ब ३१ करोड

प्राइम कमर्सियल बैंक – ६ अर्ब ८५ करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – १ अर्ब ७६ करोड

लक्ष्मी सन्राइज बैंक– ६९ करोड

सिटिजन बैंक – ६९ करोड

नविल बैंक – ४९ करोड 

माछापुच्छ्रे बैंक– १२ कराेड

प्रभु बैंक– ७९ लाख

एनआईशी एशिया बैंक – ३२ लाख

कृषि विकास बैंक – १८ लाख

सिद्धार्थ बैंक– १२ लाख

कुमारी बैंक – २ लाख

सानीमा बैंक– १ लाख

एनएमबि बैंक – ७९ हजार