पर्वत – जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।
सहरी विकास कार्यालयले भवनका लागि २८ करोड रुपैयाँ विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘ई’ ब्लकको काम पनि अधुरै छ ।
कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘ई’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।
०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ ।
भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताए । निर्माणाधीन भवन भासिएलगत्तै कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उनले सुनाए ।



About Us
प्रतिक्रिया