काठमाडौं – एनएमबी बैंकका डिजिटल सेल्स प्रमुख निर्भिक सापकोटाले सूचना प्रविधिको क्षेत्रमा भारत ‘एड्भान्स’ बनेको बताएका छन् । मुम्बईमा तीन दिनसम्म चलेको ‘ग्लोबल फिन्टेक फेस्ट, २०२४’ मा बैंकिङ्ग समाचारसँग कुरा गर्दै सापकोटाले यस्तो बताएका हुन् ।
मुम्बईमा बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै उनले भने, ‘सहभागी बन्न पाउँदा उत्साहित छु । डिजिटल रूपमा संसार नै परिवर्तन भइरहेको छ ।’ यस्तै, डिजिटल क्षेत्रमा भारतमा फैलिएको जनचेतनाको समेत उनले प्रशंसा गरे ।
‘भारतले सूचना प्रविधिमा मारेको फड्कोको प्रभाव नेपालमा पनि पर्छ,’ उनले भने, ‘छिमेकी भएका कारणले नेपालमा सकारात्मक प्रभाव त पर्छ नै ।’ भारतमा जस्तै नेपालले पनि पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न थालेको सापकोटाको भनाइ छ ।
‘नेपालमा पनि धेरै प्रविधि परिवर्तन भइरहेको छ,’ उनले भने, ‘भारत एड्भान्स भइसक्यो भने हामी एड्भान्स बन्ने मोडमा छौँ ।’ सूचना प्रविधिको क्षेत्रमा भारतमा ठुला पूर्वाधार बनिसकेको बताउँदै सापकोटाले नेपालमा बन्ने क्रम रहेको समेत बताए । ‘भावी दिनमा नेपाल पनि भारतजस्तै अघि जान सक्छ जस्तो लाग्छ,’ उनले थपे ।





About Us
प्रतिक्रिया