नास आईटीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

नास आईटीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले काठमाडौंको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो।सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथसाथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो ।

टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइरालालाई अध्यक्षको रूपमा नियुक्त गरिएको छ । ईके सोलुसन्सका सीईओ गौरव राज पाण्डे उपाध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन् भने गोक्यो ल्याब्सका सह–संस्थापक अभय पौडेल कोषाध्यक्षको भूमिकामा रहनेछन् ।

लगप्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं महासचिव हुनेछन् । कार्यकारी समितिमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेंस वेजका एमडी नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बीआईसी टेक्नोलोजिजकी सह–संस्थापक प्रार्थना साखः र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहने छन् ।

संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरे । नास आईटीको अध्यक्षको रूपमा आफ्नो भूमिका सम्हाल्दै सन्तोष कोइरालाले नेपाललाई विश्वव्यापी टेक हबको रूपमा स्थापित गर्ने नास आईटीको दृष्टिकोणलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी आईटी श्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुने छौं ।

यस नयाँ नेतृत्वको मातहतमा नास आईटीले आफ्नो वृद्धिविस्तार जारी राख्ने र नेपालमा आईटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । गत वर्षमा संस्थाले एसिया प्यासिफिक आईसीटी एलायन्स (एपिक्ता) मा सामेल हुने र लन्डन टेक विकमा नेपालको आईटी क्षमताहरू प्रदर्शन गर्ने जस्ता महत्वपूर्ण माइलस्टोनहरू प्राप्त गरेको थियो ।

नास आईटीले भविष्यमा पनि नवीनता अभिवृद्धि गर्ने र देशको आईटी क्षेत्रको वृद्धिलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवीनता, उद्यमशीलता, सहकार्यलाई प्रोत्साहित गर्दै सदस्यहरूलाई विश्वव्यापी बजारमा सफल बनाउन अवसरहरू सिर्जना गर्नेछ । नास आईटीले सबै सदस्य र साझेदारहरूप्रति निरन्तर समर्थनका लागि हार्दिक आभार व्यक्त गरेको छ ।

नास आईटीले वार्षिक साधारण सभा पछिको कार्यक्रममा ओर्किड इन्टरनेशनल कलेजसँग समझौता ज्ञापन पत्र्मा हस्ताक्षर गरेको छ । यस सहकार्यले नास आईटीको दिगो विकास कोषलाई बलियो बनाउनेछ । नेपाललाई विश्वव्यापी प्रविधि हबको रूपमा चिनाउने लक्ष्यलाई ओर्किड इन्टरनेशनल कलेजले समर्थन गरेको छ ।

दिगो विकास कोष नेपालको प्रविधि परिदृश्यमा नवीनता, अनुसन्धान र विकासलाई समर्थन गर्ने नास आईटीको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्न डिजाइन गरिएको एक महत्वपूर्ण पहल हो । दिगो साझेदारको रूपमा ओर्किड इन्टरनेशनल कलेजले उद्योगबीचको सहकार्यलाई समर्थन गर्न र प्रविधि ज्ञान प्रदान गर्न नास आईटीसँग मिलेर काम गर्नेछ । यस साझेदारीले नेपालको आइसीटी इकोसिस्टममा योगदान पुर्‍याउनेछ ।