ललितपुर – नेपाल उद्योग परिसंघ, होटेल संघ र नाडा अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । शिक्षा र रोजगारीबीचको सम्बन्धलाई थप मजबुत बनाउने गरी सेमिनार सम्पन्न भएको हो ।
सेमिनारमा नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी–भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन प्रयास गरिएको थियो । निजि क्षेत्रको सहभागिता अभिवृधदी गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताइन् । २०४५ सालमा स्थापना भएको सीटीइभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको उनले बताइन् । कम्तिमा पनि सीटीइभीटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ईटीएच ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताए । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताए । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउँदै दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिए । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।
प्रतिक्रिया