काठमाडौं – सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगानामाथि दुर्व्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यलाई राष्ट्रिय महिला आयोगले दोषी ठहर गरेको छ । आयोगले आचार्यले नगरकोटमा राष्ट्र बैंकले आयोजना गरेको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा ढुंगानामाथि दुर्व्यवहार गरेको ठहर गरेको हो ।
यससँगै डेपुटी गर्भनर ढुंगानालाई अदालती प्रक्रिया थाल्न समेत भनेको छ । राष्ट्रिय महिला आयोग स्रोतअनुसार यसबारे ढुंगानालाई जानकारी गराइसकिएको छ । बैंकिङ्ग समाचारसँगको कुराकानीमा आयोग स्रोतले भन्यो, ‘हामीले ढुंगाना म्यामलाई छानबिनबारे जानकारी जानकारी गराइसकेका छौं । यसबारे थप उहाँलाई नै बुझ्दा हुन्छ ।’
आयोगले आचार्यलाई दोषी ठहर गर्नुका साथै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकालको समेत संलग्नता रहेको ठहर गरेको छ । गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा नीलमलाई आचार्यले मध्यपान गरेर दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।
सो घटनासँगै डा. ढुंगानाले महिला आयोगसमक्ष छानबिनका लागि निवदेन दिएकी थिइन् । आवश्यक छानबिनपछि आयोगले आचार्यले दुर्व्यवहार गरेको ठहर गर्दै मिश्र र ढकाल समेत संलग्न रहेको निष्कर्ष निकालेको हो । सो दिन आचार्यले मिश्र र ढकालसँगै बसेर मदिरा पिइरहेको र मदिराले मात्तिएपछि डा. ढुंगानालाई दुर्व्यवहार गरेका थिए । तत्कालीन निर्देशक आचार्यलाई केन्द्रीय बैंकले बर्खास्त गरिसकेको छ ।
केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकले नीलममाथि दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई बर्खास्त गरेको हो । महिला आयोगको छानबिनबाट आफ्नो नाम पनि मुछिएपनि मिश्र यसबारे जानकारी नभएको बताउँछन् । डा. ढुंगानामाथि भएको दुर्व्यवहार प्रकरणमा तपाईँको पनि नाम मुछिएछ नि भन्ने बैंकिङ्ग समाचारको प्रश्नमा उनी भन्छन्, ‘यसबारे मलाई केही जानकारी छैन । सम्बन्धित मान्छेलाई केन्द्रीय बैंकले कारबाही गरिसक्यो । मेरो कुनै संलग्नता छैन । अन्यथा आयोगबाट पत्र आउनुपर्ने हो।’ उनले थपे, ‘यसबारे विभिन्न खाले मान्छेले अतिरञ्जित बनाइरहेका छन् ।’
प्रतिक्रिया