नेशनल फण्डले ११ लाख ७२ हजार कित्ता शेयर बिक्री गर्दै

नेशनल फण्डले ११ लाख ७२ हजार कित्ता शेयर बिक्री गर्दै



काठमाडौं – नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख ७२ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । भदौ १३ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि २ः१ अनुपातमा ५४ लाख कित्ता हकप्रद शेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । उक्त अवधिमा वितरण नभई बाँकी रहेको उक्त शेयर कम्पनीले अब लिलाम प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ५० मा प्रिमियम बापत ५० थप गरी न्यूनतम १०० मा शेयर बिक्री गर्न लागेको हो । यो शेयर संस्थापक शेयरधनी, योग्य व्यक्ति, संघसंस्था वा कम्पनी जोकोहीले खरीद गर्न पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २० हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदको माग राखेर आवेदन दिन सकिनेछ । शेयर खरीद गर्न इच्छुकले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । आवेदन भदौ २० गते कार्यालय समयभित्र दिइसक्नु पर्नेछ ।