रिलायन्सको आईपीओ प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

रिलायन्सको आईपीओ प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान


काठमाडौं – बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर (आईपीओ) बिक्री गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको फाइल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गर्न थालेको छ । नेपाल धितोपत्र बोर्डलाई रिलायन्सले आईपीओ बिक्री गर्नका लागि बुझाएको विवरण झुटो पाइएपछि सीआईबीले अनुसन्धान थालेको हो ।

कम्पनीले बुक बिल्डिङ पद्धतीमार्फत असार २७ देखि सर्वसाधारणमा आईपीओ बिक्रीको तयारी गरेको थियो । सुरुमा कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री गर्न लागेको थियो । तर विवाद भएपछि रोक्न निर्देशन दिइएको थियो ।

बुक बिल्डिङ पद्धतीमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँमा बिक्री गर्न लागिएको आईपीओ बेच्न लागेको थियो । तर अघिल्ला त्रैमासमा देखाएकोजस्तो नाफा पछिल्लो तेस्रो त्रैमासमा उल्लेख्य गिरावट आएको थियो । यसपछि कम्पनीले यसअघि बोर्डमा बाुझाएको विवरण झुटो भएको आशंका गरिएको थियो ।

रिलायन्सले सर्वसाधारणका लागि ११ लाख ५५ हजार ९६० कित्ता शेयर छुट्याएको छ । तर झुटा विवरण देखाएको पाइएपछि आईपीओ बिक्री प्रक्रिया रोकेर सीआईबीलाई फाइल बुझाएसँगै अध्ययन सुरु भएको जानकारी दिइएको छ ।