शेयर बजारमा ९४ अंकको वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार

शेयर बजारमा ९४ अंकको वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार


काठमाडौं – आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९४.५३ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३.४१ प्रतिशतले बढेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक आज २८ सय ६० अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २७ सय ६६ अंकको बिन्दुमा पुगेर रोकिएको थियो । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज २५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यसक्रममा आज ५ करोड ४९ लाख कित्ता शेयर किनेबच भएको छ । २२४ कम्पनीको शेयर मूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर छ । नेप्सेमा उत्साहजनक सुधार आउँदा ९ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ ।

यस्तै १७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा भने १० प्रतिशतको नकरात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको शेयर मूल्य २४ सय ५२ रुपैयाँ प्रतिकित्तामा आइपुगेको छ । आज मात्रै यो कम्पनीको शेयर मूल्य २७२ रुपैयाँ प्रतिकित्ताले घट्यो ।

आज आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँको शेयर किनबेच हुँदा शिवम् सिमेन्टको शेयर १ अर्ब १६ करोड रुपैयाँको किनबेच भयो । आज कारोबार भएकामध्ये कुनै पनि समूहमा गिरावट आएन् ।

१३ वटै समूहको सूचक बढ्दा जीवन बीमा समूह सबैभन्दा धेरै ६०७ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनी समूह ४६२ अंकले बढेको छ । यस्तै लघुवित्त समूहको सूचक २३० अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४३ अंकले बढेको छ । यसबोहक अन्य सबैजसो समूहमा समेत उत्साहजनक सुधार आएको छ ।