बैंकिङ्ग प्रणालीको निक्षेप ४ अर्बले घट्दा, कर्जा प्रवाह २ अर्बले घट्यो


काठमाडौं – साउन लागेयता बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३० अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १४ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा साउन १५ गते ६४ खर्ब ३० अर्ब संकलन भएको हो। सो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एक दिनमा ४ अर्बले निक्षेप संकलन घटेको छ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि ३ अर्बले घटेको छ। असार १४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १५ गते भने ५७ खर्ब निक्षेप संकलन गरेका छन्। त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेकाे छ । शुक्रबारसम्म ५१ खर्ब ४० अर्ब प्रवाह भएकोमा शनिबार २ अर्बले बढेर ५१ खर्ब ४२ अर्ब बराबरको कर्जा प्रवाह भएको छ ।

सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ। शुक्रबारसम्म ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शनिबार ४५ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.४७ बाट बढेर ७८.५४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।