सहकारी ठगी गरेर विदेशमा लुकेर बसेका १८ जनालाई पक्राउ गर्न छानबिन समितिको गृहलाई निर्देशन


काठमाडौं – सहकारी छानबिन समितिले सहकारी ठगी गरेर विदेशमा लुकेर बसेका सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले उनीहरूलाई फर्काउन सरकारलाई निर्देशन दिएको हो। गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

आज सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए। उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

यसैगरी, छानबिन समिति संयोजक सुर्यबहादुर थापाले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरूको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। छानबिन समितिले सहकारी रकम दुरुपयोग गरेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीलाई बुझाएको छ।

समितिले जीबी राईसहित सूर्यदर्शन सहकारीका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि स्वदेश फर्काउन निर्देशन दिएको छ। त्यस्तै, सुमेरु सहकारीको रकम अपचलन गरेको आरोप लागेका भरत महर्जन, उनकी श्रीमती माजमाया महर्जन, छोरा सचिन महर्रजन छोरी सरला महर्जनलाई पनि नेपाल फर्काउन भनिएको छ।

यस्तै, शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दीपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन गृहमन्त्रालय निर्देशन दिएको हो। बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए।