नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान


काठमाडौं– नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्। सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।

काठमाडौंस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवर्द्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गरेका हुन् । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उनले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राखे। कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम म्यानेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।