नेपालको सार्वजनिक ऋण २४ खर्ब नाध्यो


काठमाडौं – नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारकाे ऋण २४ खर्ब ३३ अर्ब नाघेको हाे ।

गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो। असार मसान्तसम्म आइपुग्दा एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ थपिई कुल २४ खर्ब ३३ अर्ब पुगेको हो ।

जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड थप भएको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा ४२.६५ प्रतिशत हो ।

कार्यालयका अनुसार असार मसान्तसम्म आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड (जीडीपीको २०.७० प्रतिशत) र बाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड (जीडीपीको २१.९५ प्रतिशत) रुपैयाँ ऋण रहेको छ।