व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु : उपप्रधानमन्त्री सिंह


काठमाडौंं – नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसद्मा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ।’ विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उनले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनी मन्त्रालय पुग्दा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गरेका थिए ।

विद्यार्थी राजनीतिदेखि उपप्रधानमन्त्रीसम्म

नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्रका रुपमा सिंहको जन्म २०१२ वैशाख १ गते काठमाडौंमा भएको हो। विज्ञान विषयमा स्नात्तकोत्तर उनी २०३० सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा प्रवेश गरेका थिए।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको नेतृत्व गर्दै पार्टी केन्द्रीय सदस्य बन्नुभएका सिंहले नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका छन्। उनले यसअघि जनसङ्ख्या तथा वातावरण, स्थानीय विकास, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हाली सकेका छन्। पछिल्लो समय नेता सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन्।