देवेन्द्र दाहाल : शिक्षकबाट राजनीतिक हुँदै राष्ट्रियसभा अब भौतिक मन्त्री


काठमाडौं – देश निर्माणको खाका कोर्ने मन्त्रालय हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। यो मन्त्रालयका नवनियुक्त मन्त्री देवेन्द्र दाहाल। लो प्रोफाइलमा रहन चाहने दाहालले एक्कासी हाई प्रोफाइल मन्त्रालय पाएपछि सबै चकित परेका छन्। नेकपा एमालेका पोलिट व्युरो सदस्य दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका चुनावी सारथी हुन्। २०४८ सालको निर्वाचन देखि निरन्तर प्रधानमन्त्री ओलीको चुनावी कमाण्डर बनेका कुशलता प्रस्तुत गरेका दाहाललाई प्रधानमन्त्री ओलीले सरप्राइज दिएका छन्। कुनै बेला शिक्षक बनेर देश बनाउने नागरिक उत्पादन गर्ने कर्ममा क्रियाशिल दाहाल आफैंलाई अहिले देश बनाउने जिम्मा आइ लागेको छ। साढे तीनवर्ष अघि राष्ट्रियसभामा निर्वाचित भएका दाहाल हाल एमाले राष्ट्रियसभा संसदीय दलको नेता पनि हुन्र।


को हुन् त देवेन्द्र दाहाल

नेपाली राजनीतिमा स्थापित नाम हो-देवेन्द्र दाहाल। उच्च जिम्मेवारीहरू पनि ‘लो प्रोफाईल’ मा बसेर काम गर्ने स्वभावका दाहालको जन्म २०१५ साल भदौ १६ गते ताप्लेजुङमा भएको हो। हाल दमक नगरपालिका वडा-५ मा स्थायी र अस्थायी रुपमा सूर्यविनयाक नगरपालिका वडा-४ भक्तपुरमा बसोबास गर्दै आएका दाहालले हाल नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् पार्टीको स्थानीय विकास विभागको प्रमुखको जिम्मेवारी पनिसम्हालि रहेका छन्। नेपालमा पञ्चायती निरंकुशताको जगजगी भइरहेको बेला त्यसको विरुद्ध २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभवित भएर किशेरावस्था देखि नै दाहाल कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।

लामो समय सम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका नेता दाहाल संगठन सञ्चालन काम गर्ने क्रममा २०४५ साल देखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध भए यो भने सोही बेलादेखि २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरे। २०५१ देखि २०५३सम्म जिल्ला उपसचिव रहेका दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका थिए । करीब १३ वर्ष अर्थात चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको उनीसँग अनुभव छ। झापामा २०५४, २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्ड समेत उहाँले सम्हालेका थिए।

जागिर छोडेर राजनीति
राजनीतिक परिवर्तनका लागि उहाँले २०५१ सालमा शिक्षकको जागिर राजिनामा गरेर राजनीतिको पूर्णकालिन भएका हुन्। दाहालले विज्ञान शिक्षकका रुपमा १३ वर्ष शिक्षण पनि गरे । त्यसपछि जनताको मुक्तिका लागि भन्दै राजिनामा गरेर राजनीतिमा होमिए। कुनै बेलाको शिक्षक भएकोले अहिले पनि झापाका धेरै जसोले उनलाई देवेन्द्र कमरेडभन्दा पनि देवेन्द्र सर भनेर संवोधन गर्ने गर्दछन। राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मुल समितीको जिम्मेवारी र २०६२/०६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि उनको काँधमा थियो।

देश संघीय संरचनामा गएपछि बनेको प्रदेश कमिटी अन्तरगत २०७३ सालमा उनलाई नेकपा एमाले प्रदेश-१ कमिटीको सदस्यको जिम्मेवारी आयो। २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी निवार्हको अवसर पाएका दाहाल २०७८ मंसिरमा चितवनमा भएको नेकपा एमालेका दशौं महाधिवेशनबाट पार्टीको पोलिटव्यूरो सदस्य निर्वाचित भंएर हालसम्म पनि कार्यरत रहेका थिए।

पार्टी अध्यक्षको सारथी
पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापाबाट संसदीय निर्वाचनमा भाग लिने क्रममा सवै जसो चुनावको कमाण्डर बनेर उनले सारथीको भूमिका निर्वाह गर्दै आएका छन्। यस्तै २०७२ सालमा ओली प्रधानमन्त्री भएका बेला नेता दाहालले उनको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गर्ने अवसर समेत पाए। त्यसैगरी २०७६ मा भएको राष्ट्रियसभाको निर्वाचनमा निर्वाचित भएपछि उनले संसद मार्फत आम जनताका समस्यामा सरकारको ध्यानआकर्षण गर्ने र जनताका पक्षमा नीति र ऐन कानुन बनाउन आफ्नो भूमिकामा केन्द्रित गरेका छन्। राष्ट्रियसभा सदस्यबाट दलको प्रमुख सचेतक हुँदै दलको नेताको भूमिका पनि निर्वाह गर्नु भएको छ। यस अघिको गठवन्धन सरकारको समयमा सिंगो सत्ता पक्षीय संसदीय दलको नेताको रुपमा पनि उनले राष्ट्रिय सभामा जिम्मेवारी पूरा गरे।

हिरासत देखि विदेश भ्रमण
२०४२ सालमा शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा परेका उनी जनआन्दोलनको सफलतापछि रिहा भएका थिए। उनीसँग चीन,भारत,अमेरिका,यूएई जस्ता देशको भ्रमण गरेको अनुभव छ। उनको विचारमा राजनीति एउटा समाज परिवर्तनको महाअभियान हो। यसका लागि लामो धैर्यताको आवश्यकता पर्दछ। उनी भन्छन् , ‘राजनीतिलाई स्वार्थका लागि प्रयोग गर्नु हुदैन,यसलाई त राष्ट्रियता,जनजिविका र समाज सुधारको माध्यम बनाउनु पर्दछ।’ नेता दाहालका एक छोरा रुपक र एक छोरी संगीताले उच्च शिक्षा अध्ययन गरि सकेर आआफ्नो पेशामा स्थापित भई सकेका छन् । कुनै पद वा जिम्मेवारी पाउँदा उत्तेजीत नहुने र नपाउँदा निराश पनि नहुने स्वभाव भएका नेता दाहाल हाल श्रीमती दूर्गासँग भक्तपुरमा अस्थाई बसोबास गर्दै आएका छन्।