काठमाडौं – नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ। डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिहीबार राति लाइन काटिदिएको हो। कम्पनीको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणका अनुसार यो बक्यौता रहेका ५६ उद्योगमध्येको सबैभन्दा धेरे हो।
प्राधिकरणले मंगलबार रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिसकेकाे छ। प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ। यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो।
बुधबार प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको थियो। प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ। योसँगै प्राधिकरणले तीन दिनमा ६ वटा उद्योगको लाइन काटेको छ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो। असार ९ पनि गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हाे। दिएको समय सोमबार सकिएपछि प्राधिकरणले लाइन काट्न थालेको हो।



About Us
प्रतिक्रिया