हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपौयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको अख्तियारको आरोप छ।