नेपाल लाइफको २३ औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडाैं – नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २३औँ / २४औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा बीरगंज, पर्सामा सम्पन्न भएको छ। यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व.२०७८/ ७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ। त्यसैगरी आ.व.२०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ। यस सभाले आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आ.व. २०७९/८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रु. १ अर्ब ७२ कराेड ७९ लाख ९२ हजार ९ सय ४९ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यसका साथसाथै साधारण सभाले संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरुबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ।

अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, लर्निंग म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए।

साथै, कम्पनीले रिस्क म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए। संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले साधारण सभामा शेयरधनीहरुले राखेका सुझावहरुलाई सकरात्मक रूपमा लिईने जानकारी गराउँर्दै कम्पनीको विकासमा योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरे। कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले शेयरधनीहरुबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा संचालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीहरुको सकारात्मक सुझावहरुलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताए । 

२३औँ /२४औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीज्यूले आ.व. २०७८/७९ र आ.व.२०७९/८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए। देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको सहर्ष जानकारी गराए। चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम् अपरेटिंग इनकम तथा प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

२०८१ जेठ मसान् सम्ममा यस कम्पनीको लगानी रु. २ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म रु.२ अर्ब ५९ कराेड ८३ लाख रुपैँया बीमा शुल्क आर्जन गरेको छ भने रु. ७८ अर्ब ७६ कराेड दाबी भुक्तानी गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५ लाख ५२ हजार ४१४ बीमालेख जारी गरिएको छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।