नबिल बैंक–मुक्तिनाथ कृषि कम्पनी सम्झौता, कृषि प्रवर्द्धनमा साझेदारी


काठमाडौं – नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीले कृषि प्रवर्द्धनका लागि सम्झौता गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण तथा साना किसानमा उद्यमशीलता विकासका लागि दुई पक्षले समझदारी गरेका हुन्। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे।

ग्राहकका आवश्यक वित्तीय र गैरवित्तीय सेवामा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको जनाइएको छ। बैंकले हरित वित्तपोषण र कृषिसम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ। सम्झौताअनुसार नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ। मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख छ।

सीईओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए। बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ। वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको धारणा व्यक्त गरे। मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एकअर्कालाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ मा धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको थियो। यो सम्झौतामार्फत नबिल बैंकले दिगो बैंकिङ्ग प्रयासलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने विश्वास गरेको छ। नबिलले पछिल्ला वर्षमा हरित वित्तपोषणमा लगानी अभिवृद्धि गर्दै आएको छ।