सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न सक्दैन : गभर्नर अधिकारी

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न सक्दैन : गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ्ग क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ्ग क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखे ।

साथै, उनले बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको बताए । उनले अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोवल घटेका कारण खराब कर्जा बढेको धारणा राखे ।

उनले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको औँल्याए।