प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी


काठमाडौंं – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ / २८ गते भारतको भ्रमण गरेका हुन् । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसद्मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिएका हुन् । आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।