ग्रामीण क्षेत्रका ६.९४ प्रतिशत युवाको मात्रै वालेट खाता भएकाे केन्द्रीय बैंककाे तथ्यांक

प्रतिवेदनअनुसार शहरी क्षेत्रका भने ३२.९६ प्रतिशत बयस्कले डिजिटल वालेटको खाता प्रयोग गरिरहेका छन् ।


काठमाडौं – ग्रामीण क्षेत्रका ६.९४ प्रतिशत युवा (बयस्क) ले मात्रै डिजिटल वालेट खाता खोलेको पाइएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा साे तथ्यांक पाइएकाे हाे। केन्द्रीय बैंकले सार्वजनिक गरेको यो प्रतिवेदन आव २०२२–२३ सम्मको तथ्यांकमा आधारित छ। प्रतिवेदनअनुसार शहरी क्षेत्रका भने ३२.९६ प्रतिशत बयस्कले डिजिटल वालेटको खाता प्रयोग गरिरहेका छन्।

यसैगरी, ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामध्ये ४ प्रतिशतले मात्रै इन्टरनेट बैंकिङ्ग र डिजिटल वालेट प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख छ। अशिक्षित मानिसहरूमध्ये दुई प्रतिशतभन्दा कमले इन्टरनेट बैंकिङ्ग र डिजिटल वालेट प्रयोग गर्ने गरेका देखिन्छ। मास्टर डिग्री र सोभन्दा माथिल्लो तहको शैक्षिक योग्यता भएका व्यक्तिहरू मध्ये क्रमशः ५६ प्रतिशत र ५२.४० प्रतिशतले डिजिटल वालेट प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरि नेपाली जनसंख्याको एक उल्लेखनीय हिस्सा अझै पनि बैंकिङ्ग पहुँचमा नभएको राष्ट्र बैंकको भनाइ छ। यो अवस्थामा ग्रामीण र सीमान्तकृत क्षेत्रहरूमा डिजिटल भुक्तानीका फाइदाहरूको बारेमा जनचेतनाको कार्यक्रम आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।