काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) रु. २५ अर्बकाे निक्षेप संकल गर्ने भएको छ। बिहीबार रू. ५० अर्बको निक्षेप संकलन गरेको बैंकले आज पुनः रु.२५ अर्बको निक्षेप संकलन गर्ने भएको हो। वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि शुक्रबार केन्द्रीय बैंकले ७ दिन अवधिको रू. २५ अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज १२ बजे बोलकबोल गरिने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ। पछिल्लो समयमा अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढिरहेको छ। निक्षेप बढेअनुसार कर्जाको माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणाली मार्फत तरलता तानिरहेको छ। जेठ महिनामा केन्द्रीय बैंकले यो साताै पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हो। यसअघि राष्ट्र बैंकले जेठ १ गते १० अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अब रूपैयाँ, २५ अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट तानेको थियो।



About Us
प्रतिक्रिया