काठमाडौं – लगानी सम्मेलनलाई लक्षित गरी लगानी बोर्ड नेपालले भारतीय कम्पनीसँगको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप बोर्डले केपीएमजी इन इन्डियाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानूनी, प्रक्रियागत तथा नियामकीय सुधार, नवप्रवर्तनमा आधारित पहलका विषयमा बृहत् छलफल भएको थियो । नेपालमा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानीभित्र्याउन लगानीको वातावरण सुधार हुनुपर्नेमा कार्यशालाका सहभागीहरूले जोड दिएका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्रका हरेक क्षेत्रमा सम्भावना उजागर हुन बाँकी रहेको बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना, स्थायित्व एवम् समावेशी आर्थिक विकासले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति दिगो हुने धारणा राखे । सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह हुने बताए ।
लगानी सम्मेलनको पूर्व तयारीस्वरूप प्रवर्द्धनात्मक कार्यक्रम, परियोजना बजारीकरण, ‘रोड शो’ तथा नीतिगत बहसका विविध कार्यक्रम गर्ने तयारी बोर्डले गरेको छ।बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले तेस्रो लगानी सम्मेलनले सम्भावित र सक्षम लगानीकर्तालाई उल्लेख्य अवसर प्रदान गर्ने बताए ।
नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले विदेशी लगानी र विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्त्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने र नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे जानकारी गराइन् । केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले आगामी लगानी सम्मेलनले नेपालमा लगानीका अवसर हेरिरहेका लगानीकर्तालाई आकर्षित गर्ने बताए ।
तयारीस्वरूप प्रवर्द्धनात्मक कार्यक्रम, परियोजना बजारीकरण, ‘रोड शो’ तथा नीतिगत बहसका विविध कार्यक्रम गर्ने तयारी बोर्डले गरेको छ । सम्मेलनपछि पनि लगानीकर्तासँग निरन्तर छलफल तथा परामर्श गरी लगानी भित्त्याउन आवश्यक सबै प्रयास गरिने बोर्डले उल्लेख गरेको छ ।



About Us
प्रतिक्रिया